२ जेठ, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखापरेको सामाजिक अराजकता र अनुशासन हीनताले समाजलाई गलत बाटोतर्फ डोर्याइरहेको बताएका छन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा मंगलबार देखि सुरु गरेको विद्यार्थी महोत्सवको ‘शिक्षा प्रणालीको पोलिटिकल इञ्जिनियरिङ’ विषयक प्यानल डिस्कसनमा बोल्दै महासचिव पोखरेलले सामाजिक अराजकताले अवसरवाद जन्मिएको प्रष्ट पारे ।
उनले भने, ‘समाजलाई अघि बढाउने हो भने नीतिगत नेतृत्वको खाँचो पर्दछ ।’
नेपालको शिक्षामा जागरण र जागृति ल्याउने काम सचेत र जागरूक राजनीतिकर्मीले नै गरेको बताउँदै महासचिव पोखरेलले आज जति प्रतिष्ठित विद्यालय र क्याम्पस छन्, तिनका स्थापना र सञ्चालनकर्ता राजनीतिक रूपमा सचेत र जागरूक व्यक्ति नै भएको प्रष्ट पारेका थिए ।
महासचिव पोखरेलले भने, ‘आज शिक्षामा जुन प्रकारका समस्या देखापरेका छन्, त्यो राजनीतिका कारणले नभएर राजनीतिलाई सही बाटोमा हिँडाउन नसकेका कारणले उत्पन्न भएको समस्या हो भन्ने कुरा बुझ्न सक्दा अहिले जुन प्रकारको अराजनीतिक प्रवृत्ति बढेको छ त्यसमा सुधार गर्न सकिन्छ ।’
गहिरो अध्ययन बिना समाजलाई सही बाटोमा डोर्याउन नसकिने स्पष्ट पार्दै यसका लागि पठन संस्कृति विकास हुनुपर्नेमा उनले जोड दिए । महासचिव पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पुरा गर्न पनि गहिरो अध्ययन र प्रशिक्षण आवश्यक रहेको बताए ।
सबै राजनीतिक दल निश्चित विधिबाट निर्देशित हुने बताउँदै नयाँ बनेका दल पनि स्वाभाविक रूपमा आफ्नो नीति र विधिबाट अघि बढ्ने उनले जिकिर गरे । महासचिव पोखरेलले मौलिक अधिकारको दृष्टिले नेपालको संविधान राम्रो भए पनि राज्य कमजोर हुँदा संविधानले प्रदान गरेको अधिकार स्थापित हुन नसकेको र यसले समाजमा असन्तुष्टि बढेको धारणा राखेका थिए ।
राज्य सत्ताको माध्यमबाट नागरिकको आर्थिक, सामाजिक अधिकार स्थापित गर्ने काममा सबै लाग्दा नागरिकको असन्तुष्टि घट्ने उनले बताए ।
राजनीति समाजको चालक भएको हुँदा हरेक नागरिक राजनीतिक रूपमा सचेत हुनुपर्नेमा महासचिव पोखरेलले जोड दिए । नेकपा (एमाले) युवालाई राजनीतिमा जोड्ने अभियानमा लागिरहेको र युवालाई राजनीतिमा जोड्नु राजनीतिक दलको कर्तव्य भएको उनको भनाई छ ।
अहिले नेपाली युवा रोजगारीको लागि विदेश गइरहँदा भारतका हजारौँ युवा रोजगारीको लागि नेपाल आइरहेको उनले सुनाए । जागिरे मनस्थितिको कारण स्वरोजगारीको क्षेत्रमा अझै पनि नेपाली युवाको ध्यान जान नसकेको महासचिव पोखरेलले बताए । व्यवस्थापकीय जोखिम बोक्ने क्षमता नेपाली समाजमा कम रहेकाले यस्तो प्रवृत्ति कायमै रहेको उनको विश्लेषण छ ।
नेपालको शिक्षा प्रणालीले पनि व्यवस्थापकीय जोखिम बेहोर्ने कुरामा ध्यान दिन नसकेको महासचिव पोखरेलले बताए । शिक्षा नीतिमा नै स्थायित्वको अभावको कारण यस्तो समस्या आएको हुँदा शिक्षा व्यवस्थामा रहेका कमजोरीलाई समेत सुधार गरेर अघि जानुपर्ने अहिलेको आवश्यकता रहेको पोखरेलले बताए ।





