सहकारी ठगी प्रकरण अनुसन्धानमा लामिछाने र रास्वपाले निःशर्त सहयोग गर्नुपर्छः महासचिव पोखरेल

Picture of Mero Hosting

Mero Hosting

१० असोज, धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र उनको पार्टीले निःशर्त सहयोग गर्नुपर्ने बताएका छन ।

तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जाल दुरुपयोग गरिएको महासचिव पोखरेलले बताए ।

प्रेस चौतारी नेपाल, धनगढीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कुनै पनि राजनीतिक दल र त्यसको नेतृत्वले आरोप लाग्दा अनुसन्धानको लागि सहयोग गर्नुपर्नेमा रास्वपा र त्यसका अध्यक्ष लामिछानेले आरोपबाट भाग्ने प्रयास गरिरहेको बताएका छन ।

अनुसन्धान प्रक्रियाबाट भागेर सुशासन दिन नसकिने बताउँदै महासचिव पोखरेलले भने, ‘नेपाली जनताका बीचमा सुशासनका ठुला कुरा गरेर राजनीतिक दल खडा गर्ने, आफूमाथि उठेको प्रश्नको सम्बन्धमा अनुसन्धानमा जान नमान्ने भन्ने कुरा कुनै पनि अर्थमा उचित कुरा होइन, त्यो अत्यन्त गलत कुरा हो, त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति लामिछानेले निःशर्त सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री र परराष्ट्र मन्त्री विदेशमा रहेको बेला उनीहरूका विरुद्ध कुप्रचार गरेर लामिछाने माथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको उनले बताए । यसबाट नयाँ शक्ति भनिएकाहरूको चरित्र र नियत छर्लङ्ग भएको महासचिव पोखरेलले स्पष्ट पारे ।

उनले भने, ‘प्रधानमन्त्री विदेशी भूमिमा भइरहेको बेला प्रधानमन्त्रीका विरुद्ध जुन प्रकारका प्रचारहरू भइरहेका छन्, ती अति लज्जाजनक छन् र देशको हितका विरुद्धमा छन् ।’

सो कार्य रवि लामिछाने माथिको अनुसन्धानलाई नै रोक्ने खालका गतिविधि भएको भन्दै महासचिव पोखरेलले खेद व्यक्त गरे ।
उनले ‘यो कानुनी राज माथिको उपहास हो’ बताए ।

लामिछाने माथि लागेको आरोप कति गम्भीर छ भन्ने कुरा सबैले बुझेको बताउदै उनले एउटा कम्पनी खोलेर कानुन विपरीत सहकारीको ६५ करोड रुपैयाँ लैजाने कुरा चानचुने नभएको र ठगीकै नियतका साथ टेलिभिजन खोलिएको कुरा स्पष्ट भएकोे बताए ।

कुनै पनि कम्पनीको प्रबन्ध निर्देशक कुनै पनि कम्पनीको स्रोत के हो ? भन्ने कुरा थाहा नै नपाई खर्च गरेँ भन्ने कुरा असक्षमता र अनुचित भएको महासचिव पोखरेलले बताए । सहकारीबाट कम्पनीमा लगेको रकम जथाभाबी खर्च गरेर दुरुपयोग गर्नेले अहिले मेरो संलग्नता थिएन भनेर ‘क्लिन-चिट’ नपाउने उनले स्पष्ट पारे ।

महासचिव पोखरेलले भने, ‘हल्ला गरेको भरमा कसैले क्लिन-चिट प्राप्त गर्दैन, क्लिन-चिट प्राप्त गर्नु भनेको कानुनी प्रक्रियामा सहयोग गरेर अदालतबाट सफाइ पाउनु हो, अथवा अनुसन्धान प्रक्रियामा निर्दोष ठहर भएपछि क्लिन-चिट पाइन्छ ।’

सहकारी छानबिन संसदीय समितिले लामिछानेलाई स्पष्टरूपमा कानुनसम्मत कारबाही गर भनेको उनले बताए ।

‘कानुन सम्मत कारबाही गर’ भनेको विषयलाई क्लिन-चिट प्राप्त गरेको भनेर सर्वथा भ्रामक प्रचार गरिएको हुँदा यस्तो भ्रमको पछि नलाग्न र भ्रम नफिँजाउन पनि महासचिव पोखरेलले आग्रह गरे ।

देशमा देखिको निराशा चिर्न र मुलुकको आर्थिक सङ्कटलाई अन्त्य गर्न तथा विदेशमा युवा पलायन रोकी राष्ट्र निर्माणमा लगाउन नेपालमा राजनीतिक स्थायित्व आवश्यक रहेको उनले बताए । यसका लागि राज्यलाई बलियो बनाउनुपर्ने भएकाले सो कामका लागि दुईवटा प्रमुख राजनीतिक पार्टी मिलेर अगाडि बढ्ने प्रयत्न गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

राजनीतिक स्थायित्वको आधार खोज्ने कुरामा दुई पार्टी सहमत भएका स्पष्ट पारे । विगतमा सरकारले बनाएको मुलुकको जोखिमपूणर् अर्थतन्त्रबाट मुलुक बाहिर निस्कन लागेको उनले बताए ।

जति बेला मुलुक सङ्कटमा पर्दछ त्यति बेला माइतीघर सुनसान हुने र जति बेला सरकार केही काम गर्छ र जनतामा आशा जाग्छ त्यति बेला माइतीघर मण्डलामा अनेक तमासा देखाइने विडम्बनापूणर् स्थिति रहेको महासचिव पोखरेलले बताए । आज सामाजिक क्षेत्रमा देखाइएको तमासा विकास र समृद्धिको विरुद्धमा रहेको उनले भनाइ राखे ।

अहिले सत्ताबाट बाहिरिनुपर्दाको पुष्पकमल दाहालको छटपटीले मुलुकको राजनीतिलाई तनावपूणर् बनाउने काम गरेको र सरकारको एकसय दिन पुग्न नपाउँदै माओवादीले संसदमा गरेको व्यवहारले संसद्को माहौल समेत बिग्रिएको उनले बताए ।

माओवादीले सशस्त्र द्वन्द्वको बेलामा गरेको हिंसालाई ‘हिंसा’ भन्दा समेत हिंसा असंसदीय शब्द हो भनेर लफडा गरेको चर्चा गर्दै महासचिव पोखरेलले माओवादी द्वन्द्वकालमा हिंसा मात्र नभएर राष्ट्रमा आतङ्क सिर्जना गर्ने काम भएको बताए । उनले भने, ‘हिंसाको विरोध गर्नु अराजनीति पनि होइन, असंसदीय पनि होइन, यो कुरालाई माओवादी स्वयंले पनि स्वीकारेको छ ।’

माओवादी द्वन्द्वमा गैरन्यायिक हत्या, अपहरण, बलात्कार लगायतका घटना भएका कुरालाई सबैले स्वीकारेको र त्यो दण्डनीय हुन्छ भन्ने कुरालाई सबैले मानेको महासचिव पोखरेलले बताए । यी कुरा भविष्यमा नदोहोरिउन् भनेर शान्ति प्रक्रिया अघि बढाएको कुरालाई माओवादीले राम्रोसँग बुझ्नुपर्ने बताउँदै उनले सत्ता छाड्नुपरेको कुण्ठा जथाभावी नपोख्न आग्रह गरे ।

महासचिव पोखरेलले काम गर्न खोजिरहेको सरकारलाई काम गर्ने मौका दिनुपर्ने बताए । लोकतन्त्रको मूल्य मान्यतालाई सबैले अनुसरण गर्नुपर्नेमा उनले बताए ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार