१५ कार्तिक, रामेछाप । करोडौँको लागतमा बनेको रामेछापको चिस्यान केन्द्र सञ्चालनमा आएको छैन । रामेछापको मन्थली नगरपालिका-१ सानीमदौमा बनेको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन ।
निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले बताए । जिल्लामा उत्पादन हुने जुनार, सुन्तला आलु, किबी लगायतका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र गएको वर्ष नै सञ्चालनमा आउनुपर्ने भए पनि सञ्चालन हुने विषय भने अझै अन्यौल छ ।
बाग्मती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख सहित कूल सात करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र उपयोग विहीन बनेको हो ।
चिस्यान केन्द्रको भवन निर्माण गरिए पनि घेराबारा नगरिएका कारण चिस्यान केन्द्र असुरक्षित भएको स्थानीय बताउँछन् । चिस्यान केन्द्रलाई आवश्यक घेराबार गरी तत्काल सञ्चालनमा ल्याउन नगरपालिकाले चासो लिनुपर्ने स्थानीय पूणर् सुवेदीले बताए ।
निर्माण डेढ वर्ष पहिले नै सम्पन्न भए पनि सरकारको ढिलासुस्तीको कारण शीतभण्डारण समयमै सञ्चालनमा आउने नसकेको निर्माण व्यवसायी बताउँछन् । शीतभण्डारको प्राविधिक परीक्षणसमेत भइसकेकाले छिट्टै हस्तारण गरिने निर्माण व्यवसायी उत्तम पौडेले बताए ।
चिस्यान केन्द्रको भवन निर्माण सम्पन्न भए पनि घेराबार, कार्यालयमा, पाले बस्ने घर, शौचालयल गायतका संरचना निर्माण हुन बाँकी रहेको मन्थली नगरपालिकाका नगर प्रमुख श्रेष्ठले बताए । प्रदेश सरकारको मातहतमा संरचना निर्माण भएकाले हस्तान्तरण नगरी स्थानीय सरकारले केही गर्न नसक्ने उनको भनाइ रहेको छ ।
चिस्यान केन्द्र भवन निर्माणको जिम्मेवारी इजी इन्फा प्रा.लि. काठमाण्डौले पाएको थियो । यसरी निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्नु सरकारको कमजोरी भएको स्थानीय युवराज सुवेदीले बताए ।
जिल्लामा प्रधानमन्त्री आधुनिकीकरण परियोजनामार्फत जुनार जोन र आलु जोनका विभिन्न कार्यक्रम लागू भइ आलु र जुनार पर्याप्त उत्पादन भइरहेका छन् । तर जिल्ला सदरमुकाम मन्थलीमा निर्मित यो केन्द्र सञ्चालनमा नआउँदा कृषकले आफ्नो उत्पादन चिस्यान केन्द्रमा राख्न पाएका छैनन् । उत्पादन चिस्यान केन्द्रमा राख्न नपाएपछि कृषकहरू चिन्तित बनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका पूर्वकार्यालय प्रमुख थिरलाल गैरेले बताए ।
– खबरहबबाट





