१९ भदौ, सप्तरी । सांसद अनिरुद्रप्रसाद सिंह यादव थुनामा गएका छन् । सप्तरीबाट निर्वाचित प्रदेश सांसद यादव पर्पक्षका लागि थुनामा गएका हुन ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश भएको हो ।
१६ वर्षदेखि मुलतबीमा रहेको मुद्दामा प्रहरीले सोमवार राजविराज-७ बाट यादवलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उनी २०६४ असार १४ गतेदेखि नै फरारको सूचीमा थिए ।
सरकारी वकिल कार्यालयले सप्तरी जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा २०६४ असार ९ गते तत्कालीन खोक्सरप्रवाह-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्यामा यादवको पनि संलग्नता रहेको उल्लेख छ । मृतककी दिदी रीताकुमारी चौधरीले २०६४ असार १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा यादव समेत नौ जनाको नाम उल्लेख गरेर किटानी जाहेरी दिएकी थिइन ।
यसअघि जनता समाजवादी पार्टीमा रहेका यादव गएको प्रदेशसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।





