२९ पुष, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकाको ध्यानाकर्षण गराएका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उत्यका (देउखुरी) मा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी संगको भेटमा मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली गेरुवा क्षेत्रमा पानीको संकट बढेका कारण समस्या उत्पन्न भएको भन्दै समस्या समाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराएका हुन ।
‘बर्दिया राष्ट्रिय निकुञ्ज कर्णाली नदी तर्फको भूभाग अग्लो हुदै गएको छ । पानीभरी कैलाली तिर सोझिदा बन्यजन्तुले पानी खान पाएका छैनन । किसानले सिंचाई गर्न पाएका छैनन्’ मुख्यमन्त्री आचार्यले भने, ‘यो समस्या समाधान गर्न पानीको निकास गराउनुपर्ने छ ।’
मानव वन्यजन्तु द्वन्द्व बढ्नुमा पानीको संकट प्रमुख कारण भएको भन्दै मुख्यमन्त्री आचार्यले यो समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गरे ।
किसानको करिब ५ सय विगाह जग्गा राष्ट्रिय निकुञ्जमा परेको तर त्यसको कुनै मुआब्जा नपाएको बारेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराए ।
‘पाँच सय बिगाह जग्गा जनताको निकुञ्जमा परेको छ । जमीन भएर पनि सुकुम्बासी बन्नुपर्ने अवस्था भयो’ मुख्यमन्त्री आचार्यले भने, ‘यो समस्यालाई गम्भिरतापूर्वक लिनुपर्ने भएको छ ।’
वन क्षेत्रको मुद्धा चलाउने अधिकर डेफोलाई दिनुपर्ने, अधिकार नहुँदा मुद्धाको किनारा लगाउन समस्या परेको छ । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीठकुरीले कर्णाली गेरुवा क्षेत्रको पानीको समस्या, मध्यवर्ती क्षेत्रको जग्गाको समस्या र डेफोलाई अधिकार प्रत्यायोजनका बारेमा ध्यान दिने बताए । जग्गाको मुआब्जा दिन मध्यवर्ती क्षेत्रको बजेटले सम्बोधन गर्न सक्ने अवस्था रहेनछ ।





