प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रधानमन्त्री ‘प्रचण्ड’को प्रतिबद्धता

Picture of Mero Hosting

Mero Hosting

१३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्री सँगको सामूहिक भेटमा उनले आन्तरिक रुपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको जानकारी दिएको भेटमा सहभागी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेशका आन्तरिक ममिलामन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई संविधानतः प्रदेशलाई अधिकार सम्पन्न र सङ्घीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवं कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकताका साथ टुङ्ग्याइनुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानको अनुसूचीमा उल्लेखित प्रदेश सरकारको एकल अधिकारका रुपमा रहेको प्रहरी समायोजन लगायत अधिकार प्रयोग गर्न नपाउँदा प्रदेशको शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धिमा बाधा पुगिरहेको प्रदेशका आन्तरिक मामिला मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार