अझै संचालनमा आएन ट्राफिक लाइट, पैदलयात्रु जोखिम मोलेर सडक पार गर्दै

Picture of Mero Hosting

Mero Hosting

१९ असोज, बाँके । बाँकेको नेपालगञ्जमा बढ्दो सवारी चापबाट हुने सडक जामलाई व्यवस्थित गर्न एक वर्षअघि मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको भएपनि अझै नियमित रुपमा सञ्चालनमा आएको छैन ।

पूर्व भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा सडक डिभिजन कार्यालय नेपालगञ्जले जडान गरेको ट्राफिक लाइट केहि दिन परीक्षणका लागि सञ्चालन गरिएको थियो ।

तर, अर्थतन्त्रको मारमा जनताले पसिना बगाएर तिरेको लाखौं रुपैँया करबाट जडान गरिएको उक्त ट्राफिक लाइट अहिले सो पीस जस्तै छ । नेपालगञ्जमा नाम मात्रको ट्राफिक लाइट छ ।

सडक डिभिजन कार्यालयले उक्त ट्राफिक लाइट नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मातहतमा रहेको ट्राफिक लाइटलाई आवश्यक पर्ने विद्युत समेत उपमहानगरले ब्यवस्था गरेको हो । ट्राफिक लाइट संचालनमा नल्याउँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ । तीव्र गतिमा हुइकिने सवारी साधन चोकमा समेत गति कम नगर्दा दुर्घटना हुने गरेको छ ।

नेपालगञ्जका मुख्य चोक पुष्पलाल चोक, धम्बोझी, विपी र गणेशमान चोकमा ट्राफिक लाइट जडान भएको छ । पैदलयात्रुलाई सडक वारपार गर्न सहज गर्ने उद्देश्यले जेब्राक्रसको संकेत समेत बनाइएको छ । तर, सवारी चालकले तीव्र गतिमा गाडी चलाउँदा पैदल यात्रुलाई जोखिम मोलेर सडक वारपार गर्न परेको छ ।

नेपालगञ्जका मुख्य चोकमा जोखिम मोलेर सडक वारपार गर्न परेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरकी रुमा क्षेत्रीले बताइन् । धम्बोझी चोकमा सडक पार गरेपछि उनले राहत महशुस गरिन् ।

उनले भनिन्, ‘सडक वारपार गर्न साह्रै गाह्रो छ । जेब्राक्रस भए पनि सवारी चालकलाई यसको बारेमा जानकारी नभएको जस्तो लाग्छ । जेब्राक्रसमा समेत तीव्र गतिमा सवारी साधन चलाउँदा ठोकिने हो की भन्ने डर लाग्छ । ट्राफिक लाइट हुँदाहुँदै पनि जोखिम मोलेर सडक वारपार गर्न परेको छ ।’

सडक वारपार गर्ने मध्ये बालबालिका, जेष्ठ नागरिक र महिला सवैभन्दा जोखिममा छन् । तीव्र गतिमा आएका सवारी साधनले किच्ने हो की डरैडरमा यो समुहका वर्गलाई हुने गरेको छ ।

‘सडक पार गरेपछि एउटा युद्ध जितेको जस्तो गर्व लाग्छ,’ खजुरा गाउँपालिका १ राधापुरका ६५ वर्षीया निरमाया थापाले भनिन् ।

ट्राफिक लाइट जडानका लागि आवश्यक बजेटको ब्यवस्थापन गरेका पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले ट्राफिक लाइट संचालनमा ल्याए पैदल यात्रुलाई सडक वारपार गर्न सहज हुने बताए ।

उनले नेपालगञ्जको सवारी चापलाई मध्यनजर गरि ट्राफिक लाइटका लागि रकमको ब्यवस्था मिलाएको बताए ।

‘पैदल यात्रु र सवारी दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न ट्राफिक लाइट जडान गर्न रकमको ब्यवस्था मिलाएको हो’ उनले भने, ‘जडान हुने वित्तिकै संचालनमा ल्याउनुपर्ने हो, तर जडान भएको एक वर्ष वित्न लाग्दासमेत संचालनमा नल्याउनु दुर्भाग्य मान्नु पर्छ ।’

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार